मध्यपुर थिमि,११४६ सिल्लाथ्वः प्रतिपदा, माघ ५ ।
मध्यपुर थिमि नगरपालिका वडा नं. ७ स्थित ऐतिहासिक पर्यटकीय क्षेत्र नगदेशमा यस वर्ष ‘ऐतिहासिक पुलुकिसी नाच २०८२’ भव्यताका साथ प्रदर्शन गरिने भएको छ। नेवा: ऐतिहासिक साँस्कृतिक भजन खलः को आयोजनामा हुने उक्त नाचका बारेमा जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा नाचको तयारी र महत्वबारे प्रकाश पारिएको हो।

नेवा: ऐतिहासिक साँस्कृतिक भजन खलः का अध्यक्ष एवं भजन गुरु तुल्सीभक्त घजुको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा वरिष्ठ संस्कृतिविद् तथा इतिहासविद् प्रा.डा. पुरुषोतम लोचन श्रेष्ठ प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। कार्यक्रममा वडा नं. ७ का अध्यक्ष कृष्णकुमार प्रजापति विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

परापूर्वकालदेखि नगदेशमा प्रदर्शन हुँदै आएको यो पुलुकिसी नाच श्री स्वस्थानी व्रतकथाको प्रसङ्गमा आधारित छ। यस वर्षको नाचको मुख्य कलाकार (नवराज राजकुमार) को भूमिकामा जेनिस बाडे रहनेछन्। त्यस्तै, नागचा: मा श्रीजल बाडे तथा सहेलीको रूपमा चार्भी बाडे र दीप्सा उपले अभिनय गर्नेछन्। नाचको संरक्षण र संवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ भजन खलः ले यसको सम्पूर्ण व्यवस्थापन गरिरहेको छ।
नाचको लागि गत मंसिर २५ गतेदेखि नायखीं बाजा र पुष २४ गतेदेखि नाचको विशेष प्रशिक्षण सुरु भइसकेको छ। पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण पर्वसँगै यो नाचको धार्मिक विधि सुरु हुन्छ।
मुख्य प्रदर्शनको दिन (माघ १६ गते, भीमद्वादशी) सहस्र धारा बोक्ने व्रतालुहरूले भगवान माधव नारायण र पण्डितलाई निम्तो दिएपछि मात्र नाच सुरु हुन्छ। नगदेशको सिद्धि गणेश मन्दिर प्राङ्गणमा नवराज राजकुमारद्वारा पूजा सम्पन्न गरेपछि उनलाई हात्ती (पुलुकिसी) मा सवार गराई नगर परिक्रमा गराइन्छ। नाचको समापन नगदेशको पूर्वी भेगमा रहेको विष्णु नारायण मन्दिर अगाडि नवराजलाई हात्तीबाट ओरालेपछि हुन्छ।
यस वर्षको नाचको विशेष आकर्षणको रूपमा ‘स्वर्गीय जगत नसिंह बाडे स्मृति लाइफ एचिभ्मेन्ट अर्वाड’ प्रदान गरिने भएको छ। नवराज परिवारको तर्फबाट प्रदान गरिने उक्त पुरस्कारबाट नेवा: ऐतिहासिक साँस्कृतिक भजन खलः का गुरु तुल्सीभक्त घजु र नाचका गुरु आशाबहादुर उपलाई सम्मानित गरिनेछ। कला र संस्कृतिको संरक्षणमा उहाँहरूले पुर्याउनुभएको योगदानको कदर गर्दै यो अवार्ड प्रदान गर्न लागिएको हो।

माघ १६ गते मुख्य प्रदर्शन भए तापनि नाचको औपचारिक समापन भने स्वस्थानी व्रत समापन हुने दिन माघ १८ गते भक्तपुरको चाँगुनारायण मन्दिर परिसरमा गरिने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथि प्रा.डा. पुरुषोतम लोचन श्रेष्ठले यस्ता ऐतिहासिक नाचहरूले नेपालको मौलिक पहिचान जोगाइराख्ने बताउनुभयो। कार्यक्रमको सञ्चालन नाचका मुख्य कलाकार जेनिस बाडेले गर्नुभएको थियो।
