Card Image

भक्तपुर । ११४६ सिल्लाथ्वः नवमी, २०८२ माघ १३ गते मंगलबार

राष्ट्रिय स्वतन्त्र पार्टी (रा.स्व.पा.) भक्तपुर क्षेत्र नं. २ का उम्मेदवार तथा पूर्व पत्रकार राजिब खत्रीले मध्यपुर थिमि नगरभित्रका सञ्चारकर्मीसँग पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्नुभएको छ । कार्यक्रम चपाचोस्थित कुमार बेकरीमा आयोजित भएको थियो ।

कार्यक्रममा बोल्दै खत्रीले मध्यपुर थिमिलाई नेवारी संस्कृति, भाषा, सम्पदा र इतिहासले समृद्ध सहरका रूपमा व्याख्या गर्दै यसलाई आफ्नो “राजनीतिक विश्वविद्यालय” को रूपमा लिएको बताउनुभयो । “म नीतिगत तहमा काम गर्न आएको हुँ । यहाँको मौलिकता, भाषा, संस्कृति, मठमन्दिर र ऐतिहासिक पृष्ठभूमि बुझेर मात्रै प्रभावकारी नीति निर्माण सम्भव हुन्छ,” उहाँले भन्नुभयो ।

उहाँले आफू भक्तपुर क्षेत्र नं. २ बाट उम्मेदवार भए पनि संसद पुगेपछि देशभरका समस्यालाई उठान गर्ने स्पष्ट पार्नुभयो । “म यो क्षेत्रबाट निर्वाचित भएर जाने सांसद हुँ, तर देशकै सांसद पनि हुँ,” खत्रीले उल्लेख गर्नुभयो ।

काँक्रेबारी लगायत स्थानीय समस्याबारे उठेका प्रश्नमा उहाँले वनसम्बन्धी कडा कानुन र देशभर देखिएका समान प्रकृतिका समस्या समाधानका लागि नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो । साथै, नेवा समुदायप्रति सम्मान व्यक्त गर्दै उहाँले संस्कृति, भाषा र सम्पदाको सम्मान गर्ने जो कोही पनि सोही समुदायको हिस्सा हुने धारणा राख्नुभयो ।

राजनीतिमा परिवर्तनको आवश्यकता औंल्याउँदै खत्रीले यसपटक रूपान्तरण र पुस्तान्तरणको बाटो रोज्नुपर्ने बताउनुभयो । उहाँले भक्तपुरमा दीर्घकालदेखि क्रियाशील ने.म.कि.पा. (नेपाल मजदुर किसान पार्टी) लाई “संस्कारिलो पार्टी” भन्दै सम्मान व्यक्त गर्नुभयो । तर, संसदमा आवश्यक बहुमत नहुँदा धेरै राम्रो प्रस्ताव र योजनाहरू कार्यान्वयन हुन नसकेको उल्लेख गर्दै यसपटक व्यापक परिवर्तन आवश्यक रहेको धारणा राख्नुभयो ।

कार्यक्रमको अन्त्यमा खत्रीले जनताका मुद्दालाई निष्पक्ष रूपमा उजागर गर्न सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण रहेको भन्दै सहयोग र साथको अपेक्षा व्यक्त गर्नुभयो ।

Share :