भक्तपुर, २२ माघ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुर क्षेत्र नं. २ बाट नेपाली कांग्रेसका उम्मेदवार कविर राणाले आफ्ना चुनावी प्रतिबद्धताहरू सार्वजनिक गर्नुभएको छ । बिहीबार नेपाल प्रेस युनियन जिल्ला शाखा भक्तपुरले राधेराधेस्थित रोयल थाईमा आयोजना गरेको ‘पत्रकार साक्षात्कार’ कार्यक्रममा उहाँले भक्तपुरको सर्वाङ्गीण विकासका लागि आफ्नो स्पष्ट मार्गचित्र प्रस्तुत गर्नुभएको हो ।
जवाफदेहिता सहितको सुशासन कायम राख्ने तथा संविधान संशोधनमार्फत स्थायी सरकार निर्माणमा सक्रिय भूमिका खेल्ने। युवा पलायन रोक्न उद्योग, पर्यटन, कृषि, हस्तकला र पूर्वाधार विकासमार्फत स्थानीय रोजगारीका अवसर बढाउने। प्राविधिक तथा व्यवसायिक शिक्षालाई प्रोत्साहन दिने, सामुदायिक/संस्थागत विद्यालयहरूको गुणस्तर सुधार्ने र भक्तपुर क्याम्पसहरूको स्तरोन्नति गर्ने सूर्यविनायक, भक्तपुर अस्पताल तथा क्यान्सर अस्पतालको व्यवस्थापन सुधार गरी भक्तपुर अस्पताललाई स्वास्थ्य शिक्षण संस्थाको रूपमा विकास गर्ने। आशापुरी, नैचाल खोला लगायत स्रोतहरूको उपयोग गरी स्वच्छ पिउने पानीको व्यवस्था गर्ने। अव्यवस्थित शहरीकरण रोक्ने, सडक स्तरोन्नति, ढल निकास, हुनुमन्ते करिडोर र अन्य पूर्वाधार योजना अगाडि बढाउने। सूर्यविनायक प्राणी उद्यान निर्माण, लाकुरी भञ्ज्याङ–साँगा पर्यटन पदमार्ग, धार्मिक पर्यटन (केदारनाथ, आशापुरी, शिव सर्किट) प्रवर्द्धन गर्ने। मध्यपुर थिमिको कला, जात्रा, पर्व तथा पर्यटकीय स्थलहरू (लायकु दरबार, चपाचो आदि) को संरक्षण र प्रवर्द्धन गर्ने। डिजिटल सूचना, ICT र AI को प्रयोगलाई प्राथमिकता दिने तथा स्थानीय कार्यालय/शिक्षा/स्वास्थ्य संस्थामा लागू गर्ने। महिला उद्यमशीलता, सीप विकास र तालिमका लागि पहल गर्ने।
नेपाली कांग्रेसले यसपटक देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको सन्दर्भमा भक्तपुर–२ मा राणाको उम्मेदवारीलाई निकै चासोका साथ हेरिएको छ ।