मध्यपुर थिमि, भक्तपुर ने.सं. ११४६ कछलाध्व पारू कार्तिक ५ गते,
नेपाल संवत्का प्रवर्तक तथा राष्ट्रिय विभूति शंखधर साख्वा:को स्मृतिमा ने.सं. ११४६ कछलाध्व पारू (२०८२ कार्तिक ५ गते, बुधबार) का दिन मध्यपुर थिमि स्थित शंखधर चोकमा माल्यार्पण समारोह सम्पन्न भएको छ।
उक्त कार्यक्रममा राष्ट्रिय विभूति शंखधर साख्वा: प्रतिष्ठानको आयोजनामा र मध्यपुर थिमि नगरपालिकाको सहकार्यमा माल्यार्पण गरिएको हो। कार्यक्रममा उपस्थित सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले शंखधर साख्वाको प्रतिमामा माल्यार्पण गर्नुभएको थियो।
प्रधानमन्त्री कार्कीले नेपाल सम्बत् नेपाली गौरव, सभ्यता र परोपकारको प्रतीक भएको बताउँदै, “शंखधर साख्वाले जनताको ऋणमोचन गरेर समाजमा आर्थिक समानता र स्वाभिमानको बीज रोप्नुभएको थियो,” भन्दै नेपाल सम्बत् राष्ट्रिय एकताको प्रतीकका रूपमा स्थापित भएको उल्लेख गर्नुभयो।
ने.सं. ११४६ को अवसरमा वक्ताहरुले शंखधर साख्वाको योगदान नेपाली इतिहासमा अद्वितीय रहेको र उहाँकै पहलमा गरिब र ऋणी जनतालाई मुक्त गर्दै नयाँ संवत् ‘नेपाल सम्बत्’को शुभारम्भ गरिएको स्मरण गराए। यो संवत् कुनै राजकीय शक्ति वा युद्धको विजयबाट नभई एक व्यापारीको त्याग, परोपकार र लोककल्याणकारी भावनाबाट सुरू भएको अद्वितीय उदाहरण हो।
विक्रम सम्वत् २०५६ सालमा शंखधर साख्वालाई राष्ट्रिय विभूतिको उपाधि प्रदान गरिएको थियो। यस्तै, वि.सं. २०६५ कात्तिक ७ गतेदेखि नेपाल सम्बत्लाई राष्ट्रिय सम्वत्को मान्यता दिइँदै सरकारी कामकाजमा समेत उल्लेख गर्ने निर्णय भएको हो।
समारोहमा नेपाल सम्बत्को ऐतिहासिक र सांस्कृतिक महत्त्वमाथि प्रकाश पार्दै वक्ताहरूले नयाँ वर्ष ११४६ ले देशमा सुख, शान्ति, समृद्धि र सामाजिक सद्भाव ल्याओस् भन्ने कामना गरे।
कार्यक्रममा स्थानीय प्रतिनिधि, बुद्धिजीवी, विभिन्न सामाजिक संस्थाका पदाधिकारी, विद्यार्थी तथा सर्वसाधारणको उत्साहपूर्ण सहभागिता रहेको थियो।
न्हू दें या भिन्तुना — नयाँ वर्ष ११४६ को हार्दिक शुभकामना।