मध्यपुर थिमि–११४६ कछलाथ्वः दशमी, कार्तिक १४ गते –
नेपाल संवत्का प्रवर्तक एवं राष्ट्रिय विभूति शंखधर साख्वाः को योगदानको स्मरणमा आज ‘शंखधर साख्वाः दिवस’ भव्यताका साथ मनाइएको छ। बागमती प्रदेश सरकार संस्कृति तथा पर्यटन मन्त्रालय, पर्यटन कार्यालय, काठमाडौंको सहकार्यमा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले मध्यपुर थिमिस्थित शंखधरचोकमा विशेष कार्यक्रमको आयोजना गर्यो।

हरेक वर्षझैं यस वर्ष पनि जनश्रमदानबाट निर्मित शंखधर साख्वाः को प्रतिमामा माल्यार्पण कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सरकार प्रमुख तथा शीर्ष नेताहरूको उपस्थिति रहेको थियो। राज्यले वि.सं. २०४६ (ने.सं. ११२०) सालमा शंखधर साख्वाः लाई राष्ट्रिय विभूति घोषणा गरेको थियो भने वि.सं. २०६५ (ने.सं. ११२८) मा नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिएको थियो। हालै वि.सं. २०८० (ने.सं. ११४३) मा नेपाल संवत्लाई सरकारी कामकाजमा लागू गर्ने निर्णय भइसकेको छ।

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सरकारका माननीय संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ प्रमुख अतिथि हुनुहुन्थ्यो। सचिव बाबुकारजी श्रेष्ठले उद्घोषण गर्नुभएको कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, प्रदेश सभा सदस्यहरू माननीय सकुन्तला श्रेष्ठ, माननीय भावना/भुवनेश्वरी श्रेष्ठ र माननीय धन्यश्वरी प्रजापति लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो। पर्यटन कार्यालय, काठमाडौं, बागमती प्रदेशका प्रमुख पवन पोखरेल पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो।

कार्यक्रमको सुरुवातमा प्रतिष्ठानका पूर्व अध्यक्ष श्यामकृष्ण मानन्धरले स्वागत मन्तव्य व्यक्त गर्नुभयो। प्रमुख अतिथि माननीय संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठज्यूले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभयो।

दिवसको अवसरमा साँझ मध्यपुर थिमि नगरपालिकाको आयोजनामा दीप प्रज्वलन कार्यक्रम गरियो। यस अवसरमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ तथा अन्य व्यक्तिहरूले शंखधर साख्वाः को प्रतिमामा माल्यार्पण गर्नुभयो।
