मध्यपुर थिमि, ने.सं. ११४६ कछलाथ्वः पुन्हि, कार्तिक १९ – मध्यपुर थिमिमा आज सकिमना पुन्हि अर्थात् हलिमलि पुन्हि पर्व परम्परागत उत्साहका साथ मनाइँदै छ। ने.सं. ११४६ कार्तिक शुक्ल पूर्णिमाका दिन परेको यो पर्वलाई स्थानीयहरूले “सकिमना पुन्हि” नामले पनि चिन्ने गर्छन्।
झ
नेपाल भाषामा “सकि” शब्दको अर्थ पिँडालु र “मिला” शब्दको अर्थ चन्द्रमा हुन्छ। पूर्णचन्द्रमा उदाउने यस दिन उसिनिएको पिँडालु खाने चलन भएकाले यसलाई सकिमना पुन्हि वा सकिमिला पुन्हि भनिन्छ।

यस अवसरमा मकै, भटमास र विभिन्न प्रकारका गेडागुडी भुटेर खाने परम्परा पनि रहिआएको छ। यही कारण यो पर्वलाई “हलिमलि पुन्हि” पनि भनिन्छ।

मध्यपुर थिमिका विभिन्न टोल तथा गुठीका भजन खलःहरूले मठमन्दिरको अगाडि परम्परागत वाद्यवादन बजाउँदै भजन गीत गाइरहेका हुन्छन् । सांस्कृतिक परम्परा र सामुदायिक एकताको प्रतीकका रूपमा यो पर्व आज मध्यपुर थिमिबासीले हर्षोल्लासका साथ मनाइरहेका छन्।