Card Image

भक्तपुर-११४६ चिल्लागाः द्वितीया, फागु २१ गते, बिहिबार ।

 भक्तपुर क्षेत्र नं. २ मा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन अन्तर्गत उत्साहजनक सहभागिताका साथ मतदान सम्पन्न भएको छ । कुल ९८ हजार २५६ मतदाता रहेको यस क्षेत्रमा ७३.३७ प्रतिशत अर्थात् ७२ हजार ९६ मत खसेको छ ।

यस क्षेत्रमा मुख्य दुई नगरपालिकाहरू सूर्यविनायक र मध्यपुर थिमि रहेका छन् । प्राप्त विवरण अनुसार सूर्यविनायक नगरपालिकामा कुल ३९ हजार २६२ मत खसेको छ भने मध्यपुर थिमि नगरपालिकामा ३२ हजार ८३४ मत खसेको छ ।

सूर्यविनायक नगरपालिकाका १० वटा वडाहरूमध्ये वडा नं. ५ मा सबैभन्दा बढी ५ हजार ९८१ मत खसेको छ भने वडा नं. ६ मा सबैभन्दा कम १ हजार ९१३ मत खसेको छ र मध्यपुर थिमि नगरपालिकाका ९ वटा वडाहरूमध्ये वडा नं. ४ मा ४ हजार ८०७ र वडा नं. ५ मा ४ हजार ७९६ मत खसेको छ ।

यस पटकको निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा एउटा फरक र सकारात्मक अभ्यास पनि देखियो । मध्यपुर थिमि नगरपालिका वडा नं. ९, बोदेस्थित कृषि विकास तालिम केन्द्रमा रहेको मतदान केन्द्रको सम्पूर्ण जिम्मेवारी महिला कर्मचारीहरूले सम्हालेका थिए ।

उक्त मतदान केन्द्रलाई ‘नमुना मतदान केन्द्र’को रूपमा स्थापना गरिएको थियो, जहाँ सुरक्षाकर्मीदेखि मतदान अधिकृतसम्म सबै महिलाहरू खटिएका थिए । महिलाहरूको नेतृत्वमा भएको उक्त मतदान केन्द्रको व्यवस्थापन अत्यन्तै व्यवस्थित र उदाहरणीय रहेको छ। उक्त मतदान स्थल (कृषि विकास तालिम केन्द्र) नै यस क्षेत्रको मतगणना स्थल समेत हो ।

Share :