Card Image

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ९, बोदेमा अवस्थित गोल्डेन फ्युचर एकेडेमीले आफ्नो १३ औँ वार्षिक उत्सव, अभिभावक दिवस तथा ग्राजुएसन समारोह २०८२ चैत्र ७  गते शनिबार भव्य रूपमा मनाएको छ । निल बाराही पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रतिभा प्रदर्शन गरेका थिए ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिका वडा नं. ९ का अध्यक्ष सानु काजि राजबाहकले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो । उद्घाटन मन्तव्यका क्रममा प्रमुख अतिथि राजबाहकले विद्यालयले शिक्षाको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो ।

कार्यक्रममा विद्यालयका इन्चार्ज सुजिना थापा श्रेष्ठले विद्यालयको शैक्षिक गतिविधि बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै, अतिथिका रूपमा बोल्दै नवरत्न लाइफ स्कुलका प्रिन्सिपल सुरेन्द्र तुबन्जा श्रेष्ठले गुणस्तरीय शिक्षामा जोड दिनुभयो । कार्यक्रममा अतिथि नरेन्द्र श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

अभिभावकहरूका तर्फबाट अमिता श्रेष्ठ र विनोद कुमार चोङबाङले आफ्ना भनाइ राख्दै विद्यालयको शैक्षिक वातावरणप्रति सन्तुष्टि व्यक्त गर्नुभयो ।

समारोहमा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक कला, राइम्स, नाटक तथा फेसन शो प्रस्तुत गरेका थिए । विशेष गरी ग्राजुएसन नृत्यले दर्शकको मन जितेको थियो । यी नृत्य तथा कलात्मक प्रस्तुतिहरूको निर्देशन शिक्षिका रबिता बकेले गर्नुभएको थियो ।

सोही अवसरमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई बाल कृष्ण अदुवा र राजेश थापा श्रेष्ठले पुरस्कार वितरण गर्नुभएको थियो । विद्यालयका प्रिन्सिपल भक्त लक्ष्मी थापा श्रेष्ठको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन प्रजिता श्रेष्ठले गर्नुभएको थियो ।

सभाका सभापति बाबुकृष्ण श्रेष्ठले विद्यालयलाई यो उचाइसम्म पुर्‍याउन सहयोग गर्ने शिक्षक, अभिभावक र विद्यार्थीहरूलाई धन्यवाद दिँदै सभा विसर्जन गर्नुभएको थियो ।

Share :