मध्यपुर थिमि-ने. स. ११४६, चौलागा नवमी, चैत्र २७ गते
मध्यपुर थिमि नगरपालिका वडा नम्बर ६ स्थित ऐतिहासिक स्वगां: पुखुको पुनःनिर्माण कार्य सम्पन्न भएको छ। नेपाल सम्बत् ११४६ चौलागा नवमी (वि.सं. २०८२ साल चैत्र २७ गते) का दिन उक्त पुखुको मूल ढोकामा ३ वटा गजूर प्रतिस्थापन गर्दै पुनःनिर्मित संरचनाको औपचारिक उद्घाटन गरिएको हो।
उद्घाटन समारोहमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजय कृष्ण श्रेष्ठले मूल ढोकामा रिबन काटी संयुक्त रूपमा पुखुमा प्रवेश गर्दै उद्घाटन गरेका थिए।
मध्यपुर थिमिकै सबैभन्दा पुरानो पोखरीका रूपमा परिचित स्वगां: पुखु पञ्चायत काल (वि.सं. २०३४ साल) मा पोखरीमाथि भवन निर्माण गरिएपछि पुरानो स्वरूप हराएको थियो। अहिले यसको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई पुनर्जीवित गर्ने उद्देश्यले पुनःनिर्माण गरिएको हो।
कार्यक्रममा वडा अध्यक्ष, नगर कार्यपालिका सदस्यहरू, महिला वडा सदस्य तथा वडा सदस्यहरूको उपस्थिति रहेको थियो। पुनःनिर्माण कार्यमा साइट इन्चार्ज इन्जिनियर प्रेमलाल भासिमा र स्वगां: पुखु पुनःनिर्माण उपभोक्ता समिति अध्यक्ष श्यामकृष्ण चक्रधर, उपाध्यक्ष प्रबिन चक्रधर, सचिव सुरेश प्रजापति, कोषाध्यक्ष रत्न केशरी प्रजापति लगायत सदस्यहरूको महत्वपूर्ण भूमिका रहेको थियो।