मध्यपुर थिमि,११४६ चौलागाः त्रयाेदशी, चैत २ गते।
मध्यपुर थिमि नगरपालिकाको बोदेमा ऐतिहासिक एवं विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ बुधबार हर्षोल्लासका साथ सम्पन्न भएको छ । बिस्का जात्राको अवसरमा मनाइने यस परम्परागत जात्रामा यस वर्ष स्थानीय युवा सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेडाएर ऐतिहासिक परम्परालाई निरन्तरता दिएका छन् ।
धार्मिक आस्था र साहसको अनुपम सङ्गम मानिने यस जात्रामा सुजनले विधिपूर्वक जिब्रो छेडेपछि काँधमा अर्धचन्द्राकार महादीप बोकेर बोदे र तगिनी क्षेत्रको परिक्रमा गरेका थिए । उनलाई हेर्न हजारौँको संख्यामा स्थानीयवासी तथा आन्तरिक एवं बाह्य पर्यटकहरूको उपस्थिति रहेको थियो ।
जात्रा सुरु हुनुअघि जिब्रो छेड्ने व्यक्तिले कठोर अनुशासन पालना गर्नुपर्ने प्रचलन छ । परम्पराअनुसार सुजनले केही दिनअघिदेखि नै व्रत, नियम र शुद्धताको पालना गरी धार्मिक विधि पूरा गरेका थिए ।
मध्यपुर थिमिको सांस्कृतिक पहिचानको रूपमा रहेको यो जात्राले प्राचीन समयदेखि चल्दै आएको धार्मिक विश्वास र जनश्रुतिलाई जीवन्त राख्दै आएको छ ।
यस जात्रालाई बिस्का जात्राकै एउटा महत्वपूर्ण अङ्गको रूपमा लिइन्छ । स्थानीय बूढापाकाहरूका अनुसार यसरी जिब्रो छेडेर नगर परिक्रमा गर्दा देशमा अनिकाल नलाग्ने, रोगव्याधि नहुने र सुखशान्ति छाउने धार्मिक विश्वास रहेको छ ।