मध्यपुर थिमि, ने.सं. ११४६ चौलागा: द्वादशीका वैशाख १५ ।
मध्यपुर थिमि नगरपालिकाद्वारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले आफ्नो १८ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । मंगलबार आयोजित कार्यक्रमका मध्यपुर थिमि नगरपालिकाका कार्यवाहक नगर प्रमुख श्री विजय कृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पूर्व नगर प्रमुख तथा प्रतिनिधि सभा सदस्य मा. श्री मदन कृष्ण श्रेष्ठले पानसमा बत्ती बालेर गर्नुभएको थियो ।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा. दिपेन्द्र कुमार रौशनले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अस्पतालले ‘यस वर्षलाई नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल विकास तथा उन्नतीको लक्ष्यमा’ भन्ने मूल नाराका साथ अघि बढ्ने निधो गरेको जानकारी दिनुभयो । प्रतिवेदन प्रस्तुत गर्दै डा. रौशनले भन्नुभयो, “जेष्ठ नागरिक स्वास्थ्य सेवा, सामाजिक कार्यमा सक्रियता र विभिन्न आन्दोलनका घाइतेहरूको नि:शुल्क उपचार जस्ता कार्यमार्फत हामीले सामाजिक उत्तरदायित्व वहन गरिरहेका छौं ।”
अस्पतालले आगामी दिनमा राजमार्गमा हुने दुर्घटनालाई लक्षित गरी न्यूरो सर्जरी सेवालाई पूर्ण रूपमा सञ्चालन गर्ने र नेपाल सरकारको नि:शुल्क सेवा अन्तर्गत १० बेडसहितको हेमोडाइलाइसिस सेवा विस्तार गर्ने लक्ष्य राखेको छ ।
प्रस्तुत प्रतिवेदन अनुसार चालू आर्थिक वर्षमा अस्पतालको कुल आय ३९ करोड १४ लाख २९ हजार ५ सय ३५ रुपैयाँ रहेको छ भने व्यय तर्फ ३३ करोड ६७ लाख ९५ हजार ३ सय ७० रुपैयाँ खर्च भएको छ । साथै, स्वास्थ्य बीमा बोर्डबाट अस्पतालले पाउनुपर्ने २९ करोड ८० लाख ७८ हजार १ सय १७ रुपैयाँ ४७ पैसा अझै भुक्तानी हुन बाँकी रहेको जानकारी समेत निर्देशक डा. रौशनले गराउनुभयो ।
वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा १५ पुरुष र १८ महिला गरी कुल ३३ जनाले रक्तदान गरेका थिए । अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य श्री हरिदास प्रजापति पहिलो रक्तदाताका रूपमा सम्मानित हुनुभएको थियो । उहाँलाई सभाध्यक्ष विजय कृष्ण श्रेष्ठले प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।
अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका सदस्य श्री हरिदास प्रजापतिले स्वागत मन्तव्य राख्नुभएको उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, वडा नं. ५ का अध्यक्ष बालकृष्ण श्रेष्ठ लगायत विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, स्वास्थ्यकर्मी तथा कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि मदन कृष्ण श्रेष्ठले अस्पतालको स्थापनाकाल देखि हालसम्म पुऱ्याएको योगदानको चर्चा गर्दै आगामी दिनमा सेवालाई अझ गुणस्तरीय बनाउन शुभकामना दिनुभयो । सभाध्यक्ष तथा कार्यवाहक नगर प्रमुख विजय कृष्ण श्रेष्ठले अस्पतालको विकासका लागि नगरपालिका र अस्पतालबीच प्रभावकारी नीति तय गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
अन्तमा अस्पतालमा भर्ना भई उपचार गराइरहेका बिरामीहरूको बेडमै पुगेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो । सो अवसरमा बिरामीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पोषणयुक्त सामग्रीहरू (पोषण वितरण) प्रदान गरिएको थियो ।