Card Image

मध्यपुर थिमि नगरपालिका महिला, बालबालिका तथा सामाजिक समावेशीकरण शाखाको आयोजनामा “अपाङ्गता भएका व्यक्तिहरूका लागि आवश्यकता पहिचान तथा विश्लेषण सम्बन्धी” १ दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम २०८३ बैशाख २४ गते, ११४६ बछलागाः पञ्चमी, बिहिबारका दिन आदर्श माध्यमिक विद्यालय, सानोठिमीमा आयोजना गरिएको थियो ।

कार्यक्रमको अध्यक्षता मध्यपुर थिमि नगरपालिका उपप्रमुख एवं अपाङ्गता समन्वय समितिका संयोजक श्री विजयकृष्ण श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अभिभावकत्व नगर प्रमुख श्री सुरेन्द्र श्रेष्ठले ग्रहण गर्नुभएको थियो ।

त्यसैगरी कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, नगरपालिका वडा नं. १ देखि ९ सम्मका वडा अध्यक्षहरू, प्रहरी वृत्त थिमिका प्रमुख डि.एस.पी. श्री नवराज ढुंगाना, नगर कार्यपालिका सदस्यहरू लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा अपाङ्गता विज्ञ सूर्यभक्त प्रजापतिले सहजीकरण गर्नुभएको थियो भने शांकेतिक भाषा दोभाषेका रूपमा श्री नानु जयना सहभागी हुनुहुन्थ्यो । साथै मानव विद्या गृहका अभिभावक स्वाबलम्बन समूह, अपाङ्गता भएका व्यक्तिहरू तथा अभिभावकहरूको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन नगर प्रमुख श्री सुरेन्द्र श्रेष्ठले गमलामा पानी हालेर गर्नुभएको थियो ।

अन्तरक्रियामा अपाङ्गता भएका व्यक्तिलाई गम्भीरताको आधारमा चार वर्ग तथा प्रकृतिको आधारमा दश प्रकारमा वर्गीकरण गरिएको विषयमा जानकारी गराइएको थियो । कार्यक्रममा सार्वजनिक कार्यालय, अस्पताल, यातायात तथा संघसंस्थाहरूमा सेवा प्रवाहलाई सहज बनाउन शांकेतिक भाषा दोभाषेको व्यवस्था अनिवार्य गर्नुपर्ने विषयमा विशेष जोड दिइएको थियो ।

सहभागीहरूले दोभाषेको अभावमा अस्पताल, सरकारी कार्यालय तथा विभिन्न संस्थाहरूमा अपाङ्गता भएका व्यक्तिहरूले दैनिक रूपमा धेरै समस्या तथा झन्झट भोग्नुपरेको अनुभव साझा गरेका थिए ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको आवश्यकता पहिचान गरी उनीहरूका अधिकार, पहुँच र सहभागिता सुनिश्चित गर्न स्थानीय तहले थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिइएको थियो ।

Share :