भक्तपुर, ८ जेठ २०८३ ।
मध्यपुर थिमि नगरपालिका वडा नं. ५ लाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएको वडा’ घोषणा गरिएको छ। शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा शुक्रबार भुलाँखेलस्थित पसा चरे गुठी भवन, जलाखुमा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो।
कार्यक्रमको सभापतित्व वडा नं. ५ का अध्यक्ष श्री बालकृष्ण श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नगर प्रमुख श्री सुरेन्द्र श्रेष्ठ उपस्थित हुनुहुन्थ्यो। विशिष्ट अतिथिमा नगर उपप्रमुख श्री विजयकृष्ण श्रेष्ठ रहनुभएको थियो। कार्यक्रममा पूर्व नगर उपप्रमुख अञ्जना देवी मधिकर्मी, प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र प्रसाद भट्ट, विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरू, प्रधानाध्यापक, समाजसेवी लगायतको सहभागिता रहेको थियो।
जलाखुस्थित पसा चरे गुठी भवनमा आयोजित कार्यक्रमको सञ्चालन वडा सचिव रामसुन्दर श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य मानव विद्या गृहका प्रधानाध्यापक बाबुकृष्ण रञ्जितले व्यक्त गर्नुभएको थियो। नगर प्रमुख सुरेन्द्र श्रेष्ठले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो।
वडा नं. ५ भित्रका ६०२ घरधुरीमा गरिएको विस्तृत सर्वेक्षणका क्रममा विद्यालय बाहिर रहेका दुई जना बालबालिका फेला परेका थिए । ती बालबालिकाहरूलाई नजिकैको विद्यालयमा व्यवस्थापन गरी कार्यक्रमकै अवसरमा शैक्षिक सामग्री, पोशाक, झोला लगायतका सामग्री वितरण गरिएको थियो ।
कार्यक्रममा वडा नं. ५ लाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित वडा’ घोषणा गरिएको थियो। यो वडा नगरपालिकाभित्र उक्त घोषणा गर्ने दोस्रो वडा हो भने यसअघि ८ वटा वडाले यस्तो घोषणा गरिसकेका छन्।
वडा अध्यक्ष बालकृष्ण श्रेष्ठले विद्यालय उमेर समूहका कुनै पनि बालबालिका शिक्षा बाहिर नरहने वातावरण निर्माण गर्न वडा कार्यालय, विद्यालय तथा समुदाय सक्रिय रूपमा लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सामुदायिक तथा संस्थागत विद्यालयहरूले बीचमै विद्यालय छोड्ने विद्यार्थीहरूको अभिलेख राखी पुनः अध्ययनमा जोड्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो। साथै अपांगता भएका, विपन्न तथा दलित विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने तथा विद्यालय बाहिर रहेका बालबालिकालाई आवश्यक परामर्श र सहजीकरण गर्ने कार्यलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो।
नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले २०८३ जेठ ८ गतेदेखि मध्यपुर थिमि नगरपालिका वडा नं. ५ मा ४ देखि १३ वर्ष उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको घोषणा गर्दै भविष्यमा पनि विद्यालय बाहिर रहेका बालबालिकालाई अनिवार्य रूपमा विद्यालयमा ल्याई निःशुल्क शिक्षा सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, पूर्व नगर उपप्रमुख अञ्जना देवी मधिकर्मी, नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठ तथा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले शुभकामना तथा मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको समापन वडा नं. ५ का अध्यक्ष बालकृष्ण श्रेष्ठले गर्नुभएको थियो।