मध्यपुर थिमि- ११४६ अनलागाः चतुर्थी, जेठ २१ गते, बिहिबार
मध्यपुर थिमि नगरपालिकाका वडा नं. १, २ र ३ लाई आधारभूत तहको अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित वडा घोषणा गरिएको छ। वडा नं. २ का वडाध्यक्ष श्री श्री कृष्ण श्रेष्ठको अध्यक्षता तथा नगर प्रमुख सुरेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो।
कार्यक्रममा वडा स्तरीय समितिले गरेको घरधुरी सर्वेक्षणअनुसार वडा नं. १ मा ६ जना, वडा नं. ३ मा ४ जना गरी १४ वर्षमुनिका विद्यालय बाहिर रहेका १० जना बालबालिकालाई विद्यालयको पहुँचमा ल्याइसकिएको जानकारी दिइयो। वडा नं. २ मा भने विद्यालय बाहिर रहेका बालबालिका नभेटिएको जनाइएको छ।
घोषणासँगै मध्यपुर थिमि नगरपालिका वडा नं. १, २ र ३ मा ४ वर्षदेखि १३ वर्षसम्मका कुनै पनि बालबालिका विद्यालय बाहिर नरहेको उल्लेख गर्दै अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको वडा घोषणा गरिएको हो। साथै आगामी दिनमा नगरपालिकाभित्र ४ देखि १३ वर्ष उमेर समूहका कुनै पनि बालबालिका विद्यालय बाहिर भेटिएमा वा नियमित विद्यालय नगएको पाइएमा अनिवार्य रूपमा विद्यालयमा भर्ना गरी निःशुल्क शिक्षा सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
कार्यक्रममा वडा नं. १ का वडाध्यक्ष बाबुकाजी डंगोल तथा वडा नं. ३ का वडाध्यक्ष एवं नगर प्रवक्ता कृष्णहरि आचार्यले स्वागत मन्तव्य राखेका थिए।
प्रमुख अतिथि नगर प्रमुख सुरेन्द्र श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र प्रसाद भट्टले आधारभूत तहको अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित वडा घोषणा सम्बन्धी प्रतिबद्धता पत्र वाचन गरेका थिए। आगामी असार महिनाको पहिलो साताभित्र सम्पूर्ण मध्यपुर थिमि नगरपालिकालाई नै अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित नगरपालिका घोषणा गर्ने तयारी भइरहेको जानकारी दिए।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोजराज धिमिरेले मन्तव्य व्यक्त गरेका थिए। , विभिन्न वडाका जनप्रतिनिधि, समाजसेवी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा शिक्षक–शिक्षिकाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।