सूर्यविनायक, भक्तपुर –१, सिरुटारस्थित राजथलाटोल, भक्तपुर।
ने.सं. ११४६ कछलागाः नःमि, कार्तिक २७ गते बिहीबार
“पौराणिक इतिहासको संरक्षण, नयाँ पुस्ताको सृजना” भन्ने मूल नाराका साथ छत्रपाल भैरव धिमे खलः, सूर्यविनायक न.पा.-१, सिरुटार, राजथलाटोल भक्तपुरले आयोजना गरेको धिमे बाजा प्रशिक्षण कार्यक्रम ने.सं. ११४६ कछलागाः नःमि, कार्तिक २७ गते बिहीबार एक विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ।

विगत डेढ महिनादेखि सञ्चालन हुँदै आएको यस प्रशिक्षणमा ५, ६ वर्षदेखि २१ वर्ष उमेर समूहका २५ जना विद्यार्थीहरूले सक्रिय सहभागिता जनाएका थिए। यस कार्यक्रमको मुख्य उद्देश्य धिमे बाजाको मौलिकतालाई जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्नु रहेको आयोजकले जनाएको छ।

प्रशिक्षणमा मध्यपुर थिमि न.पा. वडा नं. ४ बालकुमारी (कोलाखू) का धिमे प्रशिक्षक अमृत श्रेष्ठ र सह-प्रशिक्षक रबि भक्त माडी श्रेष्ठले विद्यार्थीहरूलाई धिमे बाजा बजाउने कला सिकाउनुभएको थियो। एकजना प्रशिक्षकका अनुसार दशैं पछिको समय विद्यार्थीहरूलाई प्रशिक्षण दिनका लागि उपयुक्त हुन्छ, किनकि फागुन-चैत महिनामा परीक्षाका कारण अभिभावकले विद्यार्थीहरूलाई पठाउन हिचकिचाउने गर्छन्।
कार्यक्रम समापन समारोहमा सहभागी विद्यार्थीहरूले सामूहिक रूपमा धिमे बाजाको मनमोहक प्रस्तुति दिएका थिए। सो अवसरमा बाँसुरीको धुनसँगै धिमे बाजाको प्रस्तुतिले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो।

कार्यक्रमका आयोजकहरूले धिमे बाजालाई बचाइराख्ने आशाका साथ सबैलाई शुभकामना व्यक्त गर्दै कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण समाजसेवी, अभिभावक तथा संस्कृतिप्रेमीहरूलाई धन्यवाद ज्ञापन गरेका थिए। यस अवसरमा आयोजकहरूले ज्येष्ठ नागरिकहरूलाई सम्मान गर्नुका साथै भौतिक तथा आर्थिक सहयोग गर्ने व्यक्तिहरूलाई पनि सम्मान गरेका थिए।

छत्रपाल भैरव मन्दिर परिसरमा सम्पन्न भएको यस कार्यक्रममा प्रशिक्षक तथा आयोजकहरूले निरन्तर रूपमा कला र संस्कृतिको संरक्षणमा योगदान दिने प्रतिबद्धता व्यक्त गरे। यस प्रकारका कार्यक्रमले लोपोन्मुख संस्कृतिलाई जीवन्त राख्न र युवा पुस्तामा सांस्कृतिक चेतना जगाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।