Card Image

मध्यपुर थिमि,११४६ अनलागाः द्वादशी, जेठ २९ ।

मध्यपुर थिमि नगरपालिका वडा नं. ६ लाई ‘आधारभूत तह अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित वडा’ घोषणा गरिएको छ। शुक्रबार आयोजित विशेष कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष ज्ञानदास प्रजापतिले प्रतिबद्धता पत्र वाचन गर्दै वडालाई औपचारिक रूपमा अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित वडा घोषणा गर्नुभएको हो।

कार्यक्रमको उद्घाटन मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भोजराज धिमिरे, सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र प्रसाद भट्ट, समाजसेवी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका तथा अभिभावकहरूको सहभागिता रहेको थियो।

घरधुरी सर्वेक्षणमार्फत संकलित तथ्यांक अनुसार वडा नं. ६ मा १४ वर्षमुनिका २ जना बालबालिका विद्यालय बाहिर रहेको पाइएकामा आवश्यक परामर्श तथा समन्वयपछि उनीहरूलाई विद्यालयमा भर्ना गरिएको जानकारी दिइयो। साथै, थप ३ जना विद्यालय बाहिर रहेका बालबालिकालाई पनि ज्ञान विकास माध्यमिक विद्यालय, बोडेमा भर्ना गरिएको जनाइएको छ।

शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्ने उद्देश्यले कार्यक्रमका अवसरमा विद्यार्थीहरूलाई शैक्षिक सामग्री, विद्यालय पोसाक, झोला लगायतका सामग्री वितरण गरिएको थियो।

मध्यपुर थिमि नगरपालिकाले यसअघि वडा नं. ८ बोडेलाई ‘आधारभूत तह अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित वडा’ घोषणा गरेको थियो। त्यसपछि वडा नं. ५, वडा नं. ७ तथा वडा नं. १, २ र ३ लाई सामूहिक रूपमा घोषणा गरिएको थियो भने वडा नं. ४ र वडा नं. ९ लाई पनि क्रमशः घोषणा गरिसकिएको छ। वडा नं. ६ को घोषणासँगै नगरका अधिकांश वडाहरू अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित वडा बनेका छन्।

नगर प्रमुख सुरेन्द्र श्रेष्ठले आगामी असार ५ गते मध्यपुर थिमि नगरपालिकालाई नै ‘आधारभूत तह अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित नगर’ घोषणा गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। उहाँले आगामी असार १० गतेभित्र सम्पूर्ण प्रक्रिया सम्पन्न गरी नगरलाई पूर्ण रूपमा अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित नगरका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताउनुभयो।

कार्यक्रममा वक्ताहरूले संविधानले प्रत्याभूत गरेको आधारभूत तहसम्मको अनिवार्य तथा निःशुल्क शिक्षाको अधिकार कार्यान्वयनमा मध्यपुर थिमि नगरपालिका अग्रसर रहेको उल्लेख गर्दै विद्यालय बाहिर रहेका सबै बालबालिकालाई विद्यालय शिक्षाको पहुँचमा ल्याउने अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।

ध्बम 61

Share :