Card Image

भक्तपुर-ने.सं. ११४६ अनलागाः त्रयोदशी, जेठ ३० गते, शनिबार 

नेपाल पत्रकार महासंघ, जिल्ला शाखा भक्तपुरको २४औँ साधारणसभा शनिबार भक्तपुर ब्याङ्क्वेट, हाकुफोहिटी, कालोपाटीमा सम्पन्न भएको छ।

कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकार ले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाल को उपस्थिति रहेको थियो। प्रमुख अतिथि तथा अतिथिहरूले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। कार्यक्रममा विभिन्न सञ्चार संस्था तथा सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

9

साधारणसभालाई सम्बोधन गर्दै वक्ताहरूले पत्रकारिताको वर्तमान अवस्था, सञ्चारमाध्यमले भोगिरहेका चुनौती तथा सूचनाको पहुँचसम्बन्धी विषयमा धारणा राखेका थिए। वक्ताहरूले नेपालमा अझै पनि पत्रकारहरूका लागि सरकारी निकायबाट सूचनामा सहज पहुँच नपुगेको गुनासो गर्दै सूचनाको हक प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए।

उनीहरूले संस्थागत पत्रकारिता कठिन परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै सञ्चारमाध्यमहरू आर्थिक संकटमा परेको बताए। सरकारी विज्ञापन वितरण रोकिएको करिब तीन महिना हुन लागेको भन्दै त्यसले सञ्चार संस्थाहरूको सञ्चालनमा प्रत्यक्ष असर परेको धारणा व्यक्त गरियो। विज्ञापन वितरण बन्द हुँदा सञ्चार क्षेत्र आर्थिक रूपमा थप कमजोर बन्दै गएको र यसले पत्रकारहरूको रोजगारीमा समेत असर पारेको वक्ताहरूको भनाइ थियो।

3

कार्यक्रममा बोल्ने वक्ताहरूले सरकार एकातिर रोजगारी सिर्जना गर्ने कुरा गर्ने तर अर्कोतर्फ निजी तथा सरकारी सञ्चारमाध्यममा कार्यरत पत्रकारहरूको रोजगारी संकटमा पर्दै गएको अवस्थाप्रति चिन्ता व्यक्त गरे। सञ्चार क्षेत्रलाई लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भका रूपमा संरक्षण र प्रवर्द्धन गर्न राज्यले आवश्यक नीति तथा सहयोग प्रदान गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।

Share :