मध्यपुर थिमि नगरपालिकाका ऐतिहासिक, सांस्कृतिक तथा जीवित सम्पदाको चित्रकलामार्फत अभिलेखीकरण, संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यले बोदेमा जेठ २३ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने सात दिने एकहप्ते स्थलगत चित्रकला कार्यशाला सुरु भएको छ।
मध्यपुर थिमि नगरपालिकाको वडा नं. ८ बोदेको आयोजनामा तथा एमेजिङ आर्ट ट्रेडिङ सेन्टर र Saturday Plein Air को सहकार्यमा “चित्रकलामा मध्यपुरका सम्पदाहरू” विषयक कार्यशाला सञ्चालन गरिएको हो। कार्यशालामा २५ जना चित्रकार तथा कलाकारले नगर क्षेत्रका २५ वटा महत्वपूर्ण भौतिक तथा अभौतिक सम्पदालाई क्यान्भासमा उतार्नेछन्।
कार्यशालाअन्तर्गत बोदेका ७, नगदेशका १, थिमिका १२ तथा विभिन्न जात्रा–नाचसम्बन्धी ५ गरी कुल २५ वटा सम्पदाको स्थलगत चित्रांकन गरिनेछ। कलाकारहरूले एक सातासम्म सम्बन्धित सम्पदा स्थलमै पुगेर चित्र सिर्जना गर्ने कार्यक्रम रहेको छ।
कार्यशालाको उद्घाटन बोदेको ख्योचा सामुदायिक भवनमा आयोजित समारोहबीच वडा नं. ८ का अध्यक्ष रमेश थापा श्रेष्ठले सहभागी कलाकारहरूलाई ट्राइपड, क्यान्भास, टी–सर्ट तथा चित्र लेखन सामग्री हस्तान्तरण गर्दै गर्नुभयो। उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले चित्रकलामार्फत नयाँ पुस्तालाई इतिहास, संस्कृति तथा सम्पदाबारे महत्वपूर्ण जानकारी दिन सकिने बताउनुभयो।
वडा सचिव रञ्जन प्रजापतिका अनुसार कार्यशालाको मुख्य उद्देश्य नाति पुस्तालाई बाजे पुस्ताको कला, संस्कृति र सम्पदासम्बन्धी ज्ञान चित्रकलामार्फत हस्तान्तरण गर्नुका साथै सम्पदाको संरक्षण, दस्तावेजीकरण तथा प्रचारप्रसार गर्नु हो। उहाँले सिर्जना भएका चित्रकलाको मूल्याङ्कन गरी बुकलेट प्रकाशन गर्ने प्रयाससमेत गरिने जानकारी दिनुभयो।
आयोजकका अनुसार कार्यशालाबाट मध्यपुर थिमिका प्रमुख सम्पदाको पहिचान, अस्तित्व, संरक्षण र प्रचारप्रसारका पक्षमा अध्ययन हुनुका साथै बोदे, नगदेश र थिमिका महत्वपूर्ण सम्पदाको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।