Card Image

भक्तपुर, जेठ २६ ।

मध्यपुर थिमि नगरपालिका वडा नं. ४ लाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएको वडा’ घोषणा गरिएको छ। मंगलबार लायकूस्थित आदर्श माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा वडा नं. ४ लाई औपचारिक रूपमा घोषणा गरिएको हो।

कार्यक्रमको सभापतित्व वडा नं. ४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले गर्नुभएको थियो भने मध्यपुर थिमि नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। नगर प्रमुख श्रेष्ठले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो।

कार्यक्रममा सामाजिक विकास महाशाखा प्रमुख ज्ञानेन्द्र प्रसाद भट्ट, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुनेश अधिकारी, वडा सदस्यहरू, महिला सदस्यहरू, सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक–शिक्षिका, समाजसेवी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

वडा समितिको मिति २०८२ चैत २७ गतेको निर्णयअनुसार विद्यालय बाहिर रहेका बालबालिकाको पहिचानका लागि बालप्रेमी माध्यमिक विद्यालय सुगाँ टोल र मानव विद्यागृह सिद्धिकालीका शिक्षक–शिक्षिकाले घरधुरी सर्वेक्षण सञ्चालन गरेका थिए। सर्वेक्षणका क्रममा विद्यालय बाहिर रहेका १४ वर्षमुनिका दुई जना बालबालिकाको पहिचान गरिएको थियो।

मिति २०८३ जेठ १७ गतेको निर्णयअनुसार आवश्यक परामर्श, सहजीकरण तथा समन्वयमार्फत उज्वल कालिकोटेलाई आदर्श माध्यमिक विद्यालय, लायकू तथा बिबिसा ठकुरीलाई मानव विद्यागृह, सिद्धिकालीमा भर्ना गराई विद्यालय शिक्षामा सहभागी गराइएको जानकारी दिइयो।

वडाभित्रका सामुदायिक विद्यालयहरूले आधारभूत तहमा कुनै पनि प्रकारको भर्ना शुल्क, मासिक शुल्क तथा परीक्षा शुल्क नलिई निःशुल्क शिक्षा प्रदान गर्दै आएका छन्। साथै, अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित गर्न निर्धारण गरिएका सबै सूचक तथा मापदण्डहरू पूरा भएको पुष्टि भएपछि विद्यालयका प्रधानाध्यापक तथा सरोकारवालाको सहभागितामा बसेको वडा समितिको मिति २०८३ जेठ १९ गतेको बैठकले वडा नं. ४ लाई “अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चित वडा” घोषणा गर्ने निर्णय गरेको थियो।

Share :