भक्तपुर,११४६ अनलागाः अष्टमी, जेठ २५ गते सोमबार —
नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा, नागरिकको सूचना पाउने अधिकार सुनिश्चित गर्न तथा २०८२ चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको सूचना तथा विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न माग गर्दै संकलित हस्ताक्षर आज जिल्ला प्रशासन कार्यालय भक्तपुरमार्फत प्रधानमन्त्रीसमक्ष बुझाएको छ।
महासंघले विगत दुई महिनादेखि उक्त निर्णयप्रति असहमति जनाउँदै विभिन्न दबाबमूलक आन्दोलन सञ्चालन गर्दै आएको छ। महासंघका अनुसार सरकारले हालसम्म माग सम्बोधनका लागि ठोस पहल नगरेकाले आन्दोलनका थप कार्यक्रम अघि बढाइएको हो।
आज आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष सुन्दर शिल्पकार ले संकलित हस्ताक्षर प्रमुख जिल्ला अधिकारीमार्फत सम्माननीय प्रधानमन्त्रीसमक्ष बुझाउँदै प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता तथा नागरिकको सुसूचित हुने अधिकारको संरक्षणका लागि सरकार गम्भीर बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो।