मध्यपुर थिमि, ११४६ अनलागाः दशमी, जेठ २७ गते, बुधबार
मध्यपुर थिमि नगरपालिका वडा नं. ९ लाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन भएको वडा’ घोषणा गरिएको छ। निलबाराही आधारभूत विद्यालयमा आयोजित कार्यक्रममा विभिन्न जनप्रतिनिधि, शिक्षाकर्मी, अभिभावक तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै वडा नं. ४ का वडाध्यक्ष सानुकाजी राजबाहाकले अभिभावकहरूले सामुदायिक विद्यालयको अस्तित्व अस्वीकार नगरेको स्पष्ट पार्दै गुणस्तरीय शिक्षाप्रतिको अपेक्षाका कारण निजी विद्यालय रोज्ने प्रवृत्ति बढेको बताए। उनले अभिभावकहरू आफ्ना बालबालिकाले राम्रो सिकाइ, नियमित पठनपाठन, अंग्रेजी माध्यमको शिक्षा, अनुशासन तथा भविष्यका अवसर प्राप्त गरून् भन्ने चाहना राख्ने भएकाले आर्थिक भार व्यहोरेर पनि निजी विद्यालयतर्फ आकर्षित हुने गरेको उल्लेख गरे।
उनले धेरै सामुदायिक विद्यालयमा पर्याप्त भौतिक पूर्वाधार, शिक्षक तथा सरकारी लगानी भए पनि सिकाइको गुणस्तर अभिवृद्धि, प्रभावकारी व्यवस्थापन, नियमित अनुगमन तथा अभिभावकको विश्वास जित्न अझै प्रयास आवश्यक रहेको बताए।
वडाध्यक्ष राजबाहाकले सफल शिक्षा प्रणाली त्यतिबेला मात्र स्थापित हुने धारणा राख्दै सामान्य नागरिकले आफ्ना छोराछोरीलाई सामुदायिक विद्यालयमै निर्धक्क भएर पठाउन सक्ने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा अनिवार्य तथा निःशुल्क शिक्षाको प्रभावकारी कार्यान्वयनका लागि वडा, विद्यालय, अभिभावक तथा समुदायबीच सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।